INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE

TRIBHUVAN UNIVERSITY

Kirtipur, Kathmandu, Nepal

शैक्षिक अवलोकन भ्रमण–२०८३ सम्पन्न

शैक्षिक अवलोकन भ्रमण–२०८३ सम्पन्न

2026-11-20

असोज २३ देखि ३०,२०८३,

 त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान (IAAS), डीनको कार्यालयद्वारा मिति २०८३ साल असोज २३ गतेदेखि ३० गतेसम्म आयोजित शैक्षिक अवलोकन भ्रमण भारतका विभिन्न शैक्षिक  संस्थाहरुका पदाधिकारीसँगको भेटघाट गरी सफलतापूर्वक सम्पन्न भएको छ। उक्त भ्रमणमा अध्ययन संस्थान डीनको कार्यालयका पदाधिकारी, विषय समितिका अध्यक्षहरू, आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरू तथा डीनको कार्यालयका कर्मचारीहरु गरी जम्मा १५ जनाको सहभागिता रहेको थियो। भ्रमणको मुख्य उद्देश्य संस्थागत सम्बन्धलाई सुदृढ बनाउनुका साथै विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक अवसर अभिवृद्धि, विद्यार्थी प्लेसमेन्ट, प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान, ज्ञान तथा अनुभव आदानप्रदान लगायतका क्षेत्रमा आपसी सहकार्यका सम्भावनाहरूको खोजी गर्नु रहेको थियो । भ्रमण भारतको लखनउस्थित बाबासाहेब भीमराव अम्बेडकर विश्वविद्यालय (BBAU) र नयाँ दिल्लीस्थित भारतीय कृषि अनुसन्धान संस्थान (IARI) तथा IASRI मा गरिएको थियो । उक्त भ्रमणका क्रममा श्री बाबासाहेब भीमराव अम्बेडकर विश्वविद्यालयका उपकुलपति, डीन तथा प्राध्यापकहरू र श्री भारतीय कृषि अनुसन्धान संस्थानका निर्देशक, डीन तथा वैज्ञानिकहरूसँग भेटघाट, अन्तरक्रिया तथा विभिन्न शैक्षिक एवं अनुसन्धानसम्बन्धी महत्वपूर्ण विषयमा छलफल भएको थियो । सोही अवसरमा दुवै संस्थाबीच शैक्षिक तथा अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे विचार आदानप्रदान गरिएकाले यस शैक्षिक भ्रमणलाई सफल, उपलब्धिमूलक तथा स्मरणीय मान्न सकिन्छ । भेटघाटमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने बाबासाहेब भीमराव अम्बेडकर विश्वविद्यालयका उपकुलपति, भारतीय कृषि अनुसन्धान संस्थानका निर्देशक, सम्बन्धित डीन, प्राध्यापक, वैज्ञानिक तथा अन्य सम्पूर्ण सहयोगीहरूप्रति यस कृषि तथा पशु विज्ञान अध्ययन संस्थान हार्दिक आभार व्यक्त गर्दछ। साथै, भ्रमणमा सहभागी सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय सहभागिता, सहयोग र शैक्षिक साझेदारी विस्तारप्रतिको प्रतिबद्धताका लागि धन्यवाद ज्ञापन गर्दछ।यस भ्रमणले त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र भारतका प्रतिष्ठित शैक्षिक तथा अनुसन्धान संस्थाहरूबीच दीर्घकालीन संस्थागत सम्बन्ध विस्तार, शैक्षिक सहकार्य तथा अनुसन्धान साझेदारीलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

भ्रमणको क्रममा लिइएका केही तस्वीरहरु ।

 तस्बिर १: बाबासाहेब भीमराव अम्बेडकर विश्वविद्यालय (BBAU) का उपकुलपतिसँग सम्पूर्ण प्राध्यापकहरू।

  तस्बिर २: विश्वविद्यालयका पदाधिकारीहरूसँगको बैठकपछि BBAU को उपकुलपति कार्यालयअगाडि सामूहिक तस्बिर।

तस्बिर ३: कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (IAAS) का डीन र भारतीय कृषि अनुसन्धान संस्थान (IARI) का निर्देशक

 तस्बिर ४: बैठकपछि IAAS का प्राध्यापकहरू IASRI का पदाधिकारीहरूसँग।

तस्बिर ५: IASRI का प्रमुख वैज्ञानिकसँग सामूहिक तस्बिर।

 तस्बिर ६: IASRI का निर्देशकसँग IAAS डीन तथा प्राध्यापकहरूसँगको सामूहिक तस्बिर।