Kirtipur, Kathmandu, Nepal
त्रि.वि. कृषि र पशुविज्ञान अध्ययन संस्थानको Technical Writing and Agricultural Statistics विषयमा अध्यापन कार्यमा संलग्न रहँदै आउनुभएका डा. गोविन्द रिजाल आकस्मिक सडक दुर्घटनावाट दिवंगत हुनुभएको थियो । डा. रिजालको सम्झनामा काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ८ निवासी श्रीमती डा. शान्ता कार्की र सहपाठी साथीहरुले स्वर्गीय डा. गोविन्द रिजालको नाममा त्रि.वि.कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तहमा संचालित कृषि स्नातकोत्तर विषयहरुमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र/छात्रा एक जना विद्यार्थीलाई प्राज्ञिक उत्कृष्टता पुरस्कार वितरण गर्न अक्षयकोष स्थापनार्थ १०,२५०००। (दश लाख पच्चीस हजार मात्र) कुनै त्रि. वि.वाट तोकिएको मुद्धती खातामा जम्मा गर्ने इच्छा भई त्रि. वि. नियमानुसार प्रक्रियाका लागि पत्राचार गरिदिन मिति २०८१।१०।२३ मा यस अध्ययन संस्थानमा निवेदन पेश गर्नुभएको थियो ।
त्रि.वि.को दानदातव्य कोषमा योगदान तथा कोष परिचालन सम्बन्धी निर्देशिका अनुसार डा. गोविन्द रिजाल प्राज्ञिक कोष सञ्चालनका लागि त्रि. वि. योजना निर्देशनालय मार्फत गरिएको प्रक्रिया अनुसार मिति २०८१।११।०९ मा त्रि. वि. उपकुलपतिको कार्यालयमा सम्झौता कार्यक्रम आयोजना गरिएको थियो ।
त्रि.वि.उपकुलपतिको कार्यालयमा आयोजित “डा. गोविन्द रिजाल प्राज्ञिक कोष” संचालन गर्ने कार्यक्रममा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, कृ.प.वि.अ.सं.का डीन, सहायक डीन योजना निर्देशनालयका निर्देशक, उप–निर्देशक, लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । अक्षयकोष संचालनका लागि डा. गोविन्द रिजालकी धर्मपत्नी डा. शान्ता कार्की र निजको आमा उपस्थित हुनुभएको थियो । उक्त कार्यक्रममा कृ.प.वि.अ.सं.का डीन डा.किशोरचन्द्र दाहालले डा.गोविन्द रिजालको योगदानको बारेमा प्रकाश पार्नुका साथै अक्षयकोष स्थापना र सहयोगी मनहरुवारे जानकारी दिनुभयो ।
त्रि. वि. को तर्फवाट रजिष्ट्रार प्रा. डा. केदार प्रसाद रिजाल र स्व. डा. गोविन्द रिजालकी धर्मपत्नी डा. शान्ता कार्कीले दानदातव्य कोषमा योगदान तथा कोष परिचालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै त्रि.वि.का रजिष्ट्रार प्रा.डा.केदार प्रसाद रिजालले दिवंगत डा. गोविन्द रिजालको स्मृतिमा स्थापित कोषको अधिकतम सदुपयोग गर्ने साथै निजको परिवारजनले त्रि. वि. लाई देखाउनुभएको विश्वास र स्नेहप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।