Kirtipur, Kathmandu, Nepal
यस त्रि.वि. कृषि र पशु विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयवाट संचालित स्नातकोत्तर कार्यक्रम अन्तरगत कृषि विज्ञान, पशुपालन विज्ञान, मत्स्यपालन विज्ञान र पशुचिकित्सा विज्ञान विषयमा अध्ययन गर्नका लागि शै.व. ०८१।०८२ मा भर्ना भएका विद्यार्थीहरुलाई स्नातकोत्तर तहमा हुने विभिन्न गतिविधि, पठनपाठन, परीक्षा प्रणाली र विद्यार्थीले पालन गर्नुपर्ने अनुशासन, कर्तव्य लयायतका विषयमा अभिमुखिकरण (Orientation Program) कार्यक्रम मिति २०८१।१२।१० गते त्रि. वि. सेडा हलमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता कृ प वि अ सं का डीन डा.किशोरचन्द्र दाहालज्यूले गर्नुभएको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण शैक्षिक शाखा प्रमुख श्री भृगुदेवी सापकोटाले गर्नुभएको थियो भने प्राविधिक सहजिकरण श्री विष्णु आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित हुने सम्पुर्ण महानुभावहरुलाई सहायक डीन डा. रामभजन मण्डलज्यूले स्वागत मन्तव्य दिनुभएसगै विद्यार्थी भाइवहिनी एक/एक जनाले यस अध्ययन संस्थानबाट आफुहरुले राखेको अपेक्षा विषयमा छोटो मन्तव्य राखेका थिए । कार्यक्रमको निरन्तरताको क्रममा स्नातकोत्तर कार्यक्रममा अध्यापन हुने विषय एवं शैक्षिक क्रियाकलापमाथि स्नातकोत्तर कार्यक्रम संयोजक प्रा. डा. लालप्रसाद अम्गाँइज्यूले प्रकाश पार्नुभएको थियो । त्यसैगरी यस अध्ययन संस्थानको परीक्षा प्रणालीको वारेमा सहायक डीन परीक्षा डा. हरिकृष्ण पन्तज्यूले जानकारी दिनुभयो भने सहायक डीन शिक्षण डा. पुष्पराज पौडेलज्यूले समग्र अध्ययन संस्थानमा हुने शैक्षिक गतिविधिको वारेमा छोटो प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष एवं यस अध्ययन संस्थानका डीन डा किशोरचन्द्र दाहाज्यूले समग्र अध्ययन संस्थानमा हुने शैक्षिक गतिविधिका बारेमा जानकारी दिदै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रममा करिव १०० जनाको उपस्थिति रहेको थियो ।